म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् ।

चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ ।

तर चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन ।

गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ ।

विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । सर्वसाधारणले भाँडा बजाएर विरोध गरेका छन् भने स्वास्थ्यकर्मीले काम बन्द गरेर विरोध गरिरहेका छन् ।

म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *