काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका सापकोटाको सम्भावना प्रवल - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

काठमाडौं क्षेत्र नं १० को ‘क’ मा राप्रपाका सापकोटाको सम्भावना प्रवल


आम चुनावको मिति नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नं. १० को प्रदेशतर्फ चुनावी सरगर्मी ह्वातै बढेको छ । अहिले उम्मेदवारहरु आ–आफ्ना एजेण्डा लिएर मतादाताको घरदैलोमा पुगेका छन् । काठमाडौं क्षेत्र नं. १० मा राप्रपाबाट उमेशराज सापकोटा चुनावी मैदानमा छन् । उनी ‘हलो’ चुनाव चिन्ह लिएर प्रदेश तर्फ क बाट चुनावमा होमीएका छन् । सापकोटा उम्मेदवारी बनेसँगै अहिले क्षेत्र नं. १० का मतदाताहरु निकै उत्साहित भएका छन् । अन्य राजनीतिक पार्टी भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीमा मतदाताहरुको आर्कषण बढेको उम्मेदावार सापकोटा बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेका मतदाता अलि सचेत भएको पाएको छु । उहाँहरु पार्टी भन्दापनि व्यक्ति राम्रो खोजिरहनुभएको छ ।’ आफु लामो समयदेखि यहि क्षेत्रमा राजनीति गरेको र यहाँका जनताको आशाको केन्द्र भएकाले पनि मतादाताहरु उत्साहित भएको उनको अनुभव छ । यसो त यस क्षेत्र देशकै राजधानी भएर पनि विकास निर्माणमा निकै पछि परेको छ । विगतमा यहाँ विभिन्न राजनीतिक दलले जिते तर यहाँका जनताले चाहेको जस्तो विकास गर्न सकेनन् । त्यसैले पनि यहाँको विकासलाई नयाँ आयम दिनका लागि आफुले उम्मेदवारी दिएको सापकोटा बताउँछन् ।

शिक्षा, स्वाथ्य, खानेपानी लगायत जनताको दैनिकी सहज बनाउने नै आफ्नो पहिलो प्राथमिकता रहेको सापकोटाको भनाइ छ । समाजसेवी सापकोटा विगतमा पनि जनताको अवस्था बुझ्न टोलटोल र घरघरमा पुग्ने गर्दथे र हाल पनि हरेक क्षेत्रमा सहयोग गर्दै आएका छन् । नयाँ अनुहार र पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढेकाले पनि आफ्नो जित सुनिश्चित रहेको सापकोटा बताउँछन् । सापकोटा भन्छन्, ‘राप्रपाले उठाएका एजेण्डा जनताले मन पराउनुभएको छ । त्यस्तै कारण पनि मप्रति जनताले विश्वास देखाइरहनुभएको छ । आशा छ चुनावमा मलाई विश्वास गरेर मत दिनुहुनेछ ।’
यहाँ उत्पादन हुने लव्सी, नास्पाती नेपालभरि प्रख्यात रहेको भन्दै त्यसलाई प्रशोधन गरेर नेपालसहित विदेशमा समेत निर्यात गरिने सापकोटा बताउँछन् । यहाँको पर्यटन, कला, संस्कृति, भाषा, जात्राको संरक्षण र सम्वद्र्धनका लागि पनि आफ्नो जित आवश्यक रहेको सापकोटाको भनाइ छ । यहाँको शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी सिर्जनका लागि आफु दत्तचित्त भएर लाग्ने सापकोटाले प्रतिवद्धता जनाउँदै आएका छन् ।
हाल घरदैलो अभियानमै व्यस्त रहेका सापकोटाप्रति जनताहरु सकारात्मक देखिन्छन् । चुनावी अभियानकै क्रममा अन्य पार्टीका कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गरेको सापकोटा बताउँछन् ।

Leave a Reply

Your email address will not be published.