आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

आचार्यका एकसाथ विभिन्न विधाका चार कृति लोकर्पण


लेखक तथा साहित्यकार खिमानन्द आचार्यका विभिन्न विधाका चार वटा कृति एकसाथ लोकर्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमबीच प्रज्ञा प्रतिष्ठानका कुलपति डा‍‍. गंगाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नुभएको हो ।

‘डिभर्ना-काठमाडौँ समाज’ द्वारा आयोजित कार्यक्रममा आचार्यको कवितासङ्ग्रह ‘आस्थाका प्रतिबिम्बनहरू’, कथासङ्ग्रह ‘पागल बस्ती’, लघुकथासङ्ग्रह ‘पश्चाताप’ र गीतिसङ्ग्रह ‘मनका तरङ्ग’ को विमोचन गरिएको हो ।

विगतमा गोरखापत्र संस्थानका प्रशासकीय अधिकृत रहनुभका आचार्य संयुक्त राज्य अमेरिकामा केही वर्षको बसाइपछि साहित्यिक कोसोली लिएर हाल स्वदेश फर्कनुभएको हो ।

कृति सार्वजनिक कार्यक्रम डा. रामबहादुर विसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्रष्टा आचार्यले आफ्नो लेखनको सुरुवात २०३७ सालतिरबाट भएको जानकारी गराउँदै आफ्नो पहिलो सिर्जना ‘आमा’ कविता रहेको सुनाउनुभयो । उहाँले गोरखापत्र संस्थानमा २६ वर्ष सेवा गर्दाको सम्बन्धले पनि आफ्नो लेखन बानीको विकास भएको बताउनुभयो । विभन्न समयमा सिर्जना भएका आफ्ना कथा, कविता र गीतमा जन्मभूमिप्रतिको अगाध स्नेहको कारणबाट सङ्गति र विसङ्गतिलाई चित्रण गर्न खोजेको उहाँले बताउनुभयो ।

अर्घाखाँचीको डिभर्ना निवासी लेखक तथा साहित्यकार आचार्यका यसअघि ‘धर्तीका माकुरा’ कवितासङ्ग्रह २०४३, र ‘अनेक डायस्पोराका कविता’ कवितासङ्ग्रह २०६९ प्रकाशित छन् । अमेरिकामा बस्दै आउनुभएका साहित्यकार आचार्यले नेपालको जनजीवनबारेमा कृतिहरू प्रकाशन गर्नुभएको छ ।

कुलपति डा. गंगाप्रसाद उप्रेतीले लेखक तथा साहित्यकार आचार्यको लेखनीले नेपाली साहित्यिक वाङ्मय क्षेत्रमा इँटा थपिने बताउनुभयो । कुलपति उप्रेतीले स्रष्टा आचार्यले आफूले देखे भोगेका सङ्घर्ष र अनुभवलाई सिर्जनामा उतारेर राष्ट्रलाई गुन लगाएको बताउनुभयो ।

समीक्षकहरूले आचार्यका कृतिमा देशप्रेम, मानवीय चेतना, विकृति र विसङ्गति विरुद्धका सन्देश र समसामयिकता पाइएको टिप्पणी गरेका थिए । आचार्यका कृतिहरूमाथि साहित्यकार एवम् समालोचकहरू डा. मोदनाथ प्रश्रित, विष्णु प्रभात, डा. राजाराम सुवेदी र श्रीओम श्रेष्ठ ‘रोदन’ ले समीक्षा गर्नुभएको थियो । सो अवसरमा साहित्यिक व्यक्तित्वहरूको बाक्लो जमघट रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *