जनतालाई ब्यवहारमा उतारेर देखाउन सक्नुपर्छ - राष्ट्रपत्र
मङ्लबार, माघ ४, २०७८

जनतालाई ब्यवहारमा उतारेर देखाउन सक्नुपर्छ


-डा.डिआर उपाध्याय,

यतिबेला देशको राजनीति ठिक ढङ्गले अघि बढन नसकेको हो की जस्तो भान भइरहेको छ । राजनीति गर्ने नेता देश र जनता प्रति इमान्दार हुनुपर्ने हो, त्यो अझै देखिन सकेन । राजनीति गर्ने भनेको देश र जनताका लागि हो । यहाँ त राजनीति आफनै स्वार्थका लागि गरेको देखियो । यसरी देश र जनताको उन्नति र प्रगति हुन सक्दैन । नेपालको राजनीतिमा नेता धनी बन्दै जाने अबस्था देखियो । देश र जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन ।

ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । यसरी राजनीति चल्दैन । राजनीतिक दल र तिनका नेताहरूले जनताको पक्षमा काम गर्न सक्नुपर्छ । देशलाई अघि बढाउने काम राजनीति दल र तिनका नेताको हो । राजनीतिक दलले आ–आफ्नै प्रकारले आस्था र सिद्धान्तको तय गरेका हुन्छन् । तर, त्यस अनुसार काम गरेको देखिएन । सिद्धान्त एकातिर ब्यवहार अर्को तिर गर्ने भए पछि जनताले कसरी पत्याउने यो गम्भिर सवाल हो । जनता र राष्ट्रको हित हुने विषयमा बहस हुनुपर्छ । त्यसो भए मात्र जनता विश्वस्त बन्छन् ।

राजनीतिले देशको उत्तरोत्तर प्रगति र जनताका मौलिक हक अधिकारको प्रत्याभूति गर्न सक्नुपर्दछ । राजनीति असफल बन्दै जानु भनेको नेतामा दुरदर्शिता नभएर हो । दुरदर्शिता भएको नेता हुने हो भने देश बनाउन कुनै समस्या छैन । शासन व्यवस्था ठिक ढङ्गले चलाउन सकियो भने देशमा कुनै समस्या आउँदैनन् । समस्या आएको शासन व्यवस्था ठिक ढङ्गले चलाउन नसकेर हो । अब सिद्धान्तका कुरा गरेर मात्र जनता सन्तुष्ट हुँदैनन् ।

जनतालाई ब्यवहारमा उतारेर देखाउन सक्नुपर्छ । त्यसो भयो भने मात्र अहिले देखिएका जुन किसिमका समस्या छन ति हल हुँदै जान्छन । विश्व राजनीतिको अध्ययनले पनि त्यही सिकाउँछ । देशमा लोकतन्त्र बलियो बनाउन दलहरू बलियो बन्नुपर्छ । देशका ठूला दल फुटेर जाने हो भने लोकतन्त्र कमजोर बन्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र हो । दलका सबै सिद्धान्त राम्रा छन तर सिद्धान्तलाई ब्यवहारमा देखाउन सक्नुपर्छ ।

राजनीतिक दलहरू लोकतन्त्रको मूल्य र मान्यता अनुसार अघि बढनुपर्छ । लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न नसक्नेहरु लोकतन्त्रवादी हुन सक्दैनन् । कुनै पनि राजनीतिक सिद्धान्तले खासै काम गर्न सकेको पाइँदैन । २०४६ सालमा जनताले ३० वर्षसम्म चलेको पञ्चायती शासन ढाले । जनता शासन ब्यवस्था प्रति असन्तुष्टि भए भने समस्या आउन सक्छ । जनताको आडमा २०६३ सालको जनआन्दोलन सफल भई राजतन्त्रले बिदा पायो । राजतन्त्र समाप्त भए तापनि देशमा राजनीतिक स्थिरता अझै कायम हुन सकेन ।

कुनै पनि शक्तिले जनताबाट पूर्ण विश्वास प्राप्त गर्न सकेनन् । तसर्थ सबै दल कमजोर हुन पुगे । त्यसैले शासन र सरकार कमजोर बन्यो । १२ बुँदे सहमतिका आधारमा देश संघीय लोकतान्त्रिक गणतन्त्र त बनेको छ । तर, राजनीति गर्नेहरू सबैले आफ्नो आफ्नो मूल एजेन्डा र दलको घोषणापत्रलाई निर्वाचनमै सीमित गरेका छन् । सिद्धान्तविहीन अस्वस्थ प्रतिस्पर्धा राजनीतिकर्मीहरूको दैनिकी बन्दै आएको छ । राजनीतिक पात्र गलत र स्वार्थ लोलुप क्रियाकलापहरूमा अभ्यस्तता प्राप्त गरेको देखियो ।

देशमा सुशासन कायम हुन सकेको छैन । भ्रष्टाचार व्याप्त छ । समानुपातिक निर्वाचन प्रणालीको अवलम्बनबाट धेरै दल अस्तित्वमा रहँदा राजनीतिक अस्थिरताको अवस्थाले निरन्तरता प्राप्त गरेको छ । निर्वाचन अत्यन्त खर्चिलो बनी राजनीतिलाई व्यापार व्यवसायका रूपमा परिणत गरिएको छ ।

इमानदार, त्यागी, सिद्धान्तनिष्ठ दलका नेता निर्वाचनबाट पाखा लागेका छन । तर, व्यापारिक घरानाका अर्बपतिले राजनीतिमा ठाउँ पाएका छन् । यसबाट के पुष्टि हुन्छ भने सिद्धान्तनिष्ठ, इमानदार नेता कार्यकर्ताहरू राजनीतिबाट पलायन हुँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *