नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन:डा डीआर उपाध्याय - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन:डा डीआर उपाध्याय


नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएको छ । अघिल्लो बर्ष जस्तो उत्साह र उमंग यस बर्ष छैन । अधिकांश विपन्न नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन । बिगत ७ महिनादेखि कोरोना संक्रमणले थलिएका विपन्न वर्गको निम्ति दसैं दशा बनेर खडा भएको छ । विपन्न नागरिक साँझ–बिहानको छाक टार्ने समस्यामा छन ।
अहिलेको दसैं विशेष तामझामको साथ मनाउने अवस्था छैन । देश संकटमा परेको बेला फजुल खर्च गरेर मात्र हुदैन । अघिल्लो बर्ष जस्तो बजारमा दसैंको चहलपहल त्यस्तो छैन । उपत्यकाबाट बाहिर जाने र बाहिरबाट उपत्यकामा भित्रनेको संख्या गत बर्षको तुलनामा कम छ ।

तर पनि कोरोना संक्रमणको बढ्दो वृद्धिदरलाई ख्याल गरी सुरक्षा सावधानी अपनाउनु पर्ने आबश्यकता देखिएको छ । यदि हामीले सुरक्षा सावधानी अपनाउन सकेनौ भने समस्या उत्पन्न हुने निश्चित छ । यसको निम्ति हामीले बेलैमा सचेत बन्नु आबश्यक छ । सवैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँन जरुरी छ । संक्रमण भइहाल्यो भने समस्या हुन्छ । विश्वले नै यो कोरोना भाईरस सामना गरिरहेको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरूमा बेडको अभाव भएको छ। संक्रमितको चाप बढ्दै गर्दा स्वास्थ्यकर्मीले भरपुर सेवा दिन सकेका छैनन्। सरकारले समेत संक्रमितलाई स्वास्थ्य समस्या जटिल नबनेसम्म घरमै आइसोलेसनमा बस्न अनुरोध गरिरहेको छ। जनताको नजिकको सरकार भनेको स्थानीय तहको सरकार हो । उसले आफूमातहतका क्षेत्रमा देखिएको साह्रो–गाह्रोमा सहजीकरण गरिदिनुपर्छ।
कोरोनाले धनी गरिब भन्दैन। यसले विश्वमा दश लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । तसर्थ प्रकृतिकै साझा दुस्मनको रूपमा आएको हुनाले यसलाई परास्त गर्न सामूहिक चेतनाको खाँचो छ। हरेक व्यक्तिले होसियारी अपनाएर पनि संक्रमण भइहाल्यो भने कसरी जोगिने भन्नेतर्फ सोंच्नुपर्ने बेला भएको छ। पूर्वतयारी अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो। सुरक्षा सावधानी अपनाउनु अहिलेको आवश्यकता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *