उद्धार, सफाइ र नेतृत्व : हिमालमा समर्पित मिङ्मा ग्याबु शेर्पा

काठमाडौँ । मिङ्मा ग्याबु शेर्पा हिमाल चढ्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा उनले हिमाल मात्रै चढेका छैनन, सयौँ नेपाली र विदेशीलाई हिमालका चुचुरोमा पु¥याएका छन् । हिमालमा अलपत्र परेका सयौँको उद्धार गरेका छन् । त्यति मात्रै होइन, हिमाललाई जलवायु परिवर्तनबाट बचाउन कैयौँ पटक हिमाल सफा गरेका छन् ।
तर पछिल्लो समय हिमालमा काम गर्ने जनशक्ति घट्दै गएको उनले देखेका छन् । जलवायु परिवर्तनको असरले हिमाल पगाल्दै जाँदाको असर महसुस गरेका छन् । हिमालमा अलपत्र परेका आरोहीहरुको उद्धारका क्रममा देखिएका समस्या पनि भोगेका छन् । नेपालको पर्यटनको प्रमुख आधार हिमालप्रति भइरहेको वेवास्ता र यसले निम्त्याएको समस्या समाधानमा सक्रिय शेर्पा यतिबेला नेतृत्व तहमा पुगेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
यसअघि नेपाल पर्वतारोहण संघमा कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका मिङ्मा यही भदौ ७ गते हुन लागेको संघको कार्यसमितिमा प्रथम उपाध्यक्षका उम्मेदवार छन् । शेर्पा हिमाल आरोहणलाई व्यवस्थित गर्न, दक्ष जनशक्ति उत्पादन गर्र्न र उद्धारलाई प्रभावकारी बनाउने योजनाका साथ नेतृत्वमा आउन चाहेको बताउँछन् । “हिमाल आरोहण गर्नेहरुका लागि लगानी गर्ने चलन नै छैन, एक दशकअघिसम्म वार्षिक ६० जनासम्म जनशक्ति उत्पादन भइरहेकामा अहिले त्यो शून्यमा झरेको अवस्था छ”, उनले भने, “यदि हामीले समयमै यसतर्फ ध्यान दिएनौँ भने हाम्रो पहिचान मेटिन सक्छ ।”
प्रविधिको प्रयोग अहिले उन्नत स्तरमा भइरहेको छ । प्रविधिको प्रयोग हिमाल आरोहण, उद्धार र फोहर संकलनमा पनि भइरहेको छ । यस्तो अवस्थामा आरोहणसम्बन्धी समस्या नयाँ ढंगबाट पनि सम्बोधन गर्नुपर्ने हुन्छ भन्ने उनले बुझेका छन् । “आरोहणमात्रै होइन, उद्धारमा ठूलो समस्या अझै पनि छ, हिमाल आरोहणका समयमा उद्धारका लागि हाम्रो तयारी नै हुँदैन, जुन समयमा समस्या पर्छ, त्यहीअनुसार उद्धारमा जुट्ने अवस्था छ”, उनले भने, “संघले उद्धारका लागि जनशक्ति तयार गर्नुपर्ने आवश्यक छ । यसले जोखिम कम गराउन ठूलो सहयोग गर्नेछ ।”

को हुन् मिङ्मा ग्याबु शेर्पा ?
सन् १९८९ मे १६ मा ताप्लेजुङमा जन्मिएका मिङ्मा ग्याबु शेर्र्पालाई धेरैले मिङ्मा डेभिड शेर्पाका नामले चिन्छन् । हिमाल आरोहण गरेरै विश्व कीर्तिमान काम गरेका छन् । उनका नाममा सबैभन्दा कम उमेरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेको विश्व कीर्तिमान छ ।
सन् २०२१ को जनवरी १६ मा उनीसहित दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेर नयाँ कीर्तिमान कायम गरेका थिए । केटु हिमाल आरोहणको ६७ वर्षको इतिहासमा विन्टर सिजनमा उनीहरुले गरेको त्यो पहिलो आरोहण थियो । त्यसअघि विन्टरमा केटु आरोहण गर्ने ४८ वटा असफल प्रयास भएका थिए ।
मिङ्मा शेर्पा समुदायको भए पनि हिमाल आरोहण गर्ने उहाँ गाउँकै पहिलो व्यक्ति हुन् । फक्ताङ्लुङ गाउँपालिकामा जन्मिनुभएका उहाँको बाल्यकाल पनि त्यहीँ बित्यो । गाउँका अधिकांश कि ब्रिटिस लाहुरे हुन्थे भने कि त पैसा हुनेहरु अमेरिका, क्यानडा र युरोपतिर जान्थे । मिङ्माको परिवार कृषिमै निर्भर थियो ।
सन् २००७ ताका विद्यालयमा पढ्दै गर्दा घुम्नका लागि दार्जलिङको योजना बनाएर काठमाडौँ आएका उहाँ यतै रोकिनुभयो । तत्कालीन समयमा मधेसमा आन्दोलन चर्कंदो थियो । काठमाडौँमा पनि हरेक दिन बन्दका घटना भइरहन्थे । आन्दोलनका कारण उहाँ घर जान पाउनुभएन । काठमाडौँमा बस्न खर्चको जोहो गर्ने क्रममा उहाँले पर्यटकको भारी बोक्ने काम पाउनुभयो । दिनको ३०० रुपैयाँ आम्दानी हुन्थ्यो । तैपनि सन्तुष्ट हुनुको विकल्प थिएन । त्यो समयमा चिनेजानेकाहरुले काम मिलाइदिएका थिए ।
भरियाकै काम गर्ने क्रममा मिङ्माले सन् २००९ मा मनास्लुको चार हजार ८०० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘किचन हेल्पर’को काम पाउनुभयो । आधार शिविरमा आरोहीहरु देखेपछि उहाँको मनमा त्यही समय म पनि हिमाल चढ्छु भन्ने रहर पलाएको थियो ।
काठमाडौँ फर्किएपछि भारी बोकेर जम्मा गरेको रु ३५ हजार खर्चिएर उद्धार र प्रारम्भिकसम्बन्धी आधारभूत तालिम लिनुभयो । त्यसपछि उहाँ ताप्लेजुङका दोर्जे खत्रीको सम्पर्कमा पुग्नुभयो । खत्री तीनपटक सगरमाथा आरोहण गरिसक्नुभएको थियो । “उहाँलाई फोन गरेर काम मिलाइदिन भनेँ, उहाँले सन् २०१० मा मलाई सहायक गाइडका रुपमा सगरमाथा आरोहणका लागि लैजानुभयो”, मिङ्माले विगत सम्झँदै भन्नुभयो, “सन् २०१०, २०११ र २०१२ मा उहाँकै साथमा चीनतर्फबाट सगरमाथा आरोहण गरेँ ।”
त्यो समयमा मिङ्मा काठमाडौँबाट प्राइभेट एसएलसी दिँदै हुनुहुन्थ्यो । तर आरोहण चल्दै गर्दा एसएलसीको परीक्षा बीचमै छाडेर उहाँ आरोहणमा जानुभएको थियो । सगरमाथा आरोहणपछि उहाँले उच्चस्तरीय तालिम लिन सुरु गर्नुभयो । तर त्यसको केही समयपछि आरोहणमा समस्या आयो ।

सन् २०१४ मा खुम्बु आइसफलमा १४ जना आरोहीको मृत्यु भयो । त्यसैमा मिङ्माका गुरु दोर्जे खत्री पनि पर्नुभयो । गुरु नै नरहेपछि मिङ्मालाई अब हिमाल नचढ्ने पो हो कि भन्ने हुन थाल्यो । त्यतिखेर उहाँ अर्को कम्पनीमार्फत मकालुको आरोहणमा हुनुहुन्थ्यो ।
त्यसको केही समयपछि अर्थात् सन् २०१५ मा सगरमाथाको आधार शिविरमै छँदा भूकम्पले ठूलो धक्का दियो । भूकम्पका कारण आधारशिविरमा १९ जनाको मृत्यु भयो भने ६४ जना घाइते भए । उहाँ चार दिनसम्म आधार शिविरमै बसेर उद्धारमा सक्रिय हुनुभयो । काठमाडौँ फर्किएपछि उहाँ राहत लिएर सिन्धुपालचोक पुग्नुभयो । सिन्धुपालचोकमा भूकम्पको दोस्रो ठूलो धक्काले तर्सायो ।

सन् २०१५ को जुलाइमा पाकिस्तानको केटुमा जाँदा अचानक मौसम प्रतिकूल भयो । क्याम्प–३ मा रहेको सबै टेन्टसहित सबै सामग्री हिमपहिरोमा बग्यो । भाग्यले यहाँ पनि मिङ्मा र उहाँको नेतृत्वको ४० जनाको टिम बच्यो ।

हिमालमा पटक–पटक भाग्यले बाँचेपछि अब सक्दो उमेरसम्म यहीँ बिताउँछु भन्ने अठोट लिनुभयो । “हिमालमा भएका ठूला घटनामा लगातार बाँचिसकेपछि मर्नु त कर्म रहेछ भन्ने अनुभव भयो, भूकम्पमा मानिसहरु काठमाडौँका घरभित्रै मरेको घटनाले मृत्युदेखि जोखिम लिन नडराउने भन्ने भयो, मनोबल उच्च भएपछि म यो क्षेत्रमा अझ बढी सक्रिय भएँ”, उहाँले भन्नुभयो ।

मिङ्माले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमाल ३५ पटक सफल आरोहण गरिसक्नुभएको छ । सगरमाथा र मनास्लु नौ÷नौ पटक चढ्नुभएको छ भने केटु ६ पटक र बाँकी हिमालका चुचुरोमा एक÷एक पटक पुग्नुभएको छ ।

सुरुआत नै सगरमाथाबाट गर्नुभएका मिङ्माले पाँच वटा महादेशका हिमाल चढ्नुभएको छ । अर्जेन्टिनाको अकोनकागुवा, अफ्रिकाको किलिमिन्जारो, रसियाको इलब्रस कैयौँ पटक चढ्नुभएको छ । अब उहाँको ‘बकेट लिस्ट’मा इन्डोनेसियाको कास्र्टेन्ज पिरामिड र अन्टार्टिकाको भिन्सोन म्यासिफ आरोहण बाँकी छ ।

मिङ्माले सन् २०१६ हिमाल आरोहणसम्बन्धी छ वटा भाग भएको टेलिभिजन कार्यक्रम ‘एभरेष्ट रेस्क्यु’मा काम गर्ने मौका पाउनुभयो । दुई महिनामा उहाँको टिमले सगरमाथाबाट ५२ जनालाई उद्धार ग¥यो । सन् २०१६ मे महिनामा मिङ्मासँग जीवनको सबैभन्दा ठूलो अनुभव पनि छ ।

तत्कालीन समयमा उहाँ एकैदिन सगरमाथा र ल्होत्से आरोहण गरेर आफ्नो नाममा विश्व रेकर्ड कायम गर्ने योजनामा त्यहाँ पुग्नुभएको थियो । योजनाअनुसार सगरमाथाको चुचुरोमा पुग्ने दिन पनि आयो । तर भइदियो के भने, भारत कोलकाताका एक दम्पती सगरमाथा आरोहण गरी फर्किने क्रममा थिए । तर चौथो शिविरमा श्रीमान् एक्लै आए, श्रीमतीको अत्तोपत्तो थिएन । रात ढल्दै थियो । ती महिला माथि नै छुटेको खबर सुन्नासाथ सगरमाथा आरोहणको योजना त्यागेर मिङ्मा उद्धारमा जुट्नुभयो । ती महिला आठ हजार ६०० मिटरको उचाइमा एक्लै बसेकी रहिछन् । उनी हिउँले हात र खुट्टाका औँला काम नलाग्ने भइसकेको र अनुहार हिउँले डढेको अवस्थामा भेटिइन् ।

मिङ्माको टीमले रातारात उनलाई क्याम्प–फोरमा ल्यायो । भोलिपल्ट बिहान क्याम्प–३ हुँदै क्याम्प–२ मा ल्याएर हेलिकप्टरमार्फत काठमाडौँ पठायो । काठमाडौँमा उपचारपछि उनी बाँचिन्, तर हात र खुट्टाका औँला भने गुमे । ती महिलासँग त्यसयता तीन पटक भेट भइसकेको छ । प्रत्येक भेटमा आफूलाई बचाएकामा धन्यवाद दिन्छन् ।

“छ महिनाअघि काठमाडौँको विमास्थलमा भेट भएको थियो, अहिले त उमेर बढेर होला अनुहार पनि नचिनिने भएको रहेछ, मलाई नामले बोलाउँदै हात देखाएपछि पो चिनेँ”, मिङ्माले भन्नुभयो, “त्यो भेटमा पनि निकै आत्मीय ढङ्गले कुरा गर्दै धन्यवाद दिइन् ।”

मिङ्मा आफूले त्यो दिन लिएको निर्णय जीवनकै सबैभन्दा राम्रो हो भन्नुहुन्छ । यदि त्यो दिन रेकर्डका लागि आरोहण गरेको भए अहिलेसम्म टुटिसक्थ्यो, तर ती महिला अहिले पनि जीवित छन् । “तत्कालीन समयमा लिएको निर्णयले अहिले पनि गर्व महसुस हुन्छ”, उहाँले भन्नुभयो ।

हिमाल चढ्ने मिङ्माले आरोहणसम्बन्धी काम गर्न सन् २०१६ मा कम्पनी सुरु गर्नुभयो । तर व्यवसायको ज्ञान नभएकाले चलेन । सन् २०१८ मा आइपुग्दा ३५ लाख रुपियाँ डुब्यो । हिमालमा भारी बोकेर कमाएको पैसा व्यवसायमा डुब्यो । पहिलो कम्पनी नचले पनि उहाँले सन् २०१८ मा निर्मल पुर्जा अर्थात् निम्स दाईसँग मिलेर एलाइट एक्सपेड कम्पनी सुरु गर्नुभयो । उक्त कम्पनीमा सन् २०२१ मा मिङ्मा तेञ्जी शेर्पा पनि जोडिनुभयो ।

अहिले उक्त कम्पनीले हिमाल आरोहणसम्बन्धी काम गर्दै आएको छ । उक्त कम्पनीले स्काइ डाइभिङसम्बन्धी तालिमहरु विभिन्न देशमा सञ्चालन गर्दै आएको छ । सन् २०१९ मा मिङ्मा एकै वर्षमा १० वटा हिमाल चढ्नुभयो । सन् २०१९ मा निर्मल पुर्जासँग मिलेर ‘प्रोजेक्ट पोसिबल’ सम्पन्न भयो । जसमा ६१ दिनमा १४ वटै हिमाल आरोहण गर्ने निर्मल पुर्जाको अभियान सफल पार्न मिङ्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । त्यही प्रोजेक्टअन्तर्गत निर्मल पुर्जाले छ महिना छ दिनमा १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान कायम गर्नुभयो ।

मिङ्माले हिमाल चढेर कमाएको केही पैसा यसै क्षेत्रमै गुमाउनुभएको छ, तर समाजबाट प्राप्त सम्मानमा भने आँच आउन दिनुभएको छैन । त्यसैले त मिङ्मा एभरेष्ट बैंक, स्पार्काको ब्राण्ड एम्बेस्डरका रुपमा काम गरिसक्नुभएको छभने माउन्टेन ड्यु, क्यानोन क्यामरा, एबोटलगायतका ब्राण्डसँग डिजिटल मार्केटिङमा काम गरिसक्नुभएको छ ।

सगरमाथा चढ्न सजिलो भएको हो ?
पछिल्ला केही वर्षयता सगरमाथामा चढ्दा ट्राफिक जाम हुने अवस्था छ । सयौँ मानिसहरु एकसाथ चुचुरोतर्फ गइरहेको तस्बिरहरु देखिन्छन् । मैले मिङ्मालाई सोधेँ, के अहिले हिमाल चढ्न सजिलो भएको हो ? होइन– मिङ्माको जवाफ थियो ।

उहाँका अनुसार अहिले प्रविधिका कारण सगरमाथाबारे धेरै जानकारी हामीसँग छ । मोबाइलबाटै नेभिगेसन, जिपिएस, मौसम, अल्टिच्युडबारे सजिलै जानकारी पाइन्छ । सगरमाथा आरोहणको बाटोबारे भएका कैयौँ अध्ययन अनुसन्धानका कारण सजिलो बनाएको हो । सुरुमा सगरमाथा आरोहण गर्दा तस्बिर पनि नभएको अवस्थाबाट अहिल थ्रिडी नक्सा पाइन्छ । पछिल्लो समय जलवायु परिवर्तनका कारणले भने असहज बन्दै गएको उहाँको बुझाइ छ ।

“जलवायु परिवर्तनले हिमाललाई प्रत्यक्ष रुपमा असर गरेको छ, हिउँपर्ने र पानी पर्ने समय फेरिएको छ, मौसम कहिले कस्तो हुन्छ भने अनुमान गर्न कठिन छ,”, उहाँले भन्नुभयो, “हिमालबारे पर्याप्त जानकारी नलिने, शारीरिक र मानसिक रुपमा तयार नहुँदै आरोहणका लागि जानेहरुका लागि समस्या भने हुन्छ ।” अन्य खेलमा गल्ती गर्दा खेलमात्रै हारिन्छ भने हिमालमा एउटा गल्तीले ज्यान जोखिममा पर्छ । त्यसैले शेर्पाले सहयोग गरिहाल्छन् भन्ने सोचले हिमाल आरोहणका लागि तयार हुनु राम्रो होइन ।
सगरमाथामा फोहोर ठूलो समस्या बन्दै गएको मिङ्माको बुझाइ छ । अहिले सरकारले प्रत्येक टीमसँग फोहरका लागि चार हजार डलर धितो राख्छ । फोहोर उठाएको प्रमाण देखाएपछि त्यो रकम फिर्ता आउँछ । तर सगरमाथामा फोहर दिनप्रतिदिन बढ्दो छ । त्यसैले आरोही प्रत्येकसँग निश्चित पैसा लिएर आफैँले फोहर व्यवस्थापन गर्नुपर्ने मिङ्माको सुझाव छ । त्यसो हुन सकेमा पाँच वर्षमा सगरमाथाबाट फोहोर हटाउन सकिने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *