रुसले नेपालको व्यापारमा सहयोग गर्ने - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

रुसले नेपालको व्यापारमा सहयोग गर्ने


काठमाडौँ- नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ। नेपाल-रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्धनका लागि रुसले सहयोग गर्ने भएको हो।

नेपाल-रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो। छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए।

छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, उर्जा र व्यापारमा ठूलो संभावना रहेको भन्दै लगानीका लगि आग्रह गरेका थिए। उनले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए। नेपाल र रुसबीच पुरानो सम्बन्ध रहेको व्यापारमा सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल-रुस चेम्बर अफ कमर्सका महासचिव विष्णुहरि पाण्डेले जानकारी दिए।

नेपालको प्रविधि क्षेत्रमा समेत लगानी गर्नुपर्ने भन्दै उनले व्यापार प्रवर्धनमा सहयोगका लागि आग्रह गरे। छलफलमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसमेत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *