नेपाल स्नेही काखले गाँस नामक लघु चलचित्र प्रदर्शन गर्ने भएको छ । मानसिक सन्तुलन गुमाएर सडकमा रहेका बेवारिसेहरुलाई सरंक्षण गर्दै आएको उक्त संस्थाले आगामी पुष १७ गते काठमाडौंको अष्ट नारायण हलमा उक्त चलचित्र प्रदर्शन गर्ने भएको हो । मानसिक स्वास्थ्यबिना स्वास्थ्यको कुनै अर्थ छैन त्यसैले पहिला आहारबिहारमा ध्यान दिदै स्वस्थ जीवनको सुख र खुसी साटासाट गरौं भन्ने मुल मन्त्रका साथ लामो समयदेखि बेवारिसे अवस्थामा रहेका मानिसहरुको सेवा गर्दै आएको स्नेही काखले धेरैजना असहायहरुको उद्धार गरिसकेको छ ।
विभिन्न कारणबाट मानसिक सन्तुलन गुमाएका र घरपरिवारबाट बेवास्ता गरिएका कारण बाँच्ने आधार समेत नभएका सडक मानवहरुको निमित्त सन् २०१० देखि निरन्तर सेवा गर्दै आएको नेपाल स्नेही काखमा करिब ९० जना बेवारिसेहरु छन् । जसको लालनपालन र स्वास्थ्य अवस्थाको जिम्मेवारी लिएको उक्त सँस्थाले दाताहरूको सहयोगमा गुजारा चलाइरहेको छ । सँस्थाकी प्रमुख श्रीनेहा पोखरेलका अनुसार : मनकारी सहयोगदाताहरूले आफ्नो जन्मदिन र कुनै शुभकार्यको अवसरमा धेरथोर सहयोग गर्ने गरेको र आफूहरूले पनि ठेलामा मम चाउमिन बेच्ने देखि लियर विभिन्न कार्यक्रम गरि जीविकोपार्जन गर्दै आएको पाइएको छ ।
बिरामीहरुको पालनपोषण र स्वास्थ्योपचारका लागि अनेक संघर्ष गर्दै आएको स्नेही काखले यो पटक दुई हजार रुपैयाँँ टिकट राखेर ‘गाँस’ नामक लघु चलचित्र प्रदर्शन गर्दैछ । बेवारिसेहरुको जीवनमा आधारित दुखान्त कथा समेटिएको उक्त लघु चलचित्र आगामी पूष १७ गते आइतबारको दिन दिउँसो १२ बजे काठमाडौं अष्ट नारायण हलमा प्रदर्शन हुने र त्यसपछि पोखरा लगायतका विभिन्न शहरमा प्रदर्शन हुने बताइएको छ ।