काठमाडौं । विगत २१ वर्षदेखि निरन्तर कलाकारिता र राष्ट्र सेवामा लागिपर्नुभएका कलाकार तथा राष्ट्रसेवक राजा नामले परिचित श्री चेत बहादुर सिंह राजा एभरग्रीन वल्र्डवाईड इन्टरटेन्मेन्टले दशौँ बर्षको प्रवेशको अवसरमा गरेको राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ मा सम्मानित हुनुभएको छ ।
मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो ।
चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं सभापति हास्यकलाकार गोपाल ढकाल (छन्दे) प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह, तथा विशिष्ठ अभिनेता धिरेन शाक्य विशेष अतिथि रहेका थिए ।
पिता श्री बहादुर सिंह र माता ललिता (लक्ष्मी) देवी सिहंका सुपुत्र चेत बहादुर सिंह राजा विगत २१ वर्षदेखि कलाकारितासँग सम्बन्धित हुनुहुन्छ । लाल सलाम, दलाल, सुनपानी, कपुरी क, छक्का पञ्जा २ , सहिद, देवयानीजस्ता चलचित्रहरूमा अभिनय गर्नु भएको छ भने थोरै भए पुगिसरी, फिरन्ते, तितो सत्य, मेरी बास्सै, जिरे खुर्सानी, यातना ,उद्घाटन, जस्ता दर्जनौ टेलीचलचित्रहरुमा समेत अभिनय गरिसक्नुभएको छ ।
अनेकौं म्युजिक भिडियोमा मोडलको रुपमा अभिनय, राष्ट्रियस्तरका सन्देशमूलक विज्ञापनमा समेत अभिनय गर्नुभएको छ । सांस्कृतिक संघका केन्द्रिय सह महामन्त्री, समाजसेवामा लायन्स क्लब अफ काठमाण्डौं डिस्ट्रिक एमका एड्भाईजर, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका आजीवन सदस्य, नेपाल चलचित्र कलाकार संघका महासचिव , टेलिभिजन आर्ट वक्र्स नेपालका पूर्व उपाध्यक्ष एवं आजीवन सदस्य , नेपाली कांग्रेसका क्रियासिल सदस्य समेत हुनुहुन्छ ।
नेपाल चलचित्र निर्माता संघ सदस्य, नेपाली फिल्म सोसाइटीका केन्द्रीय सदस्य भएर विभिन्न संघसंस्था मार्फत समाज, कलाकारिता र राष्ट्रसेवालाइ एकैपटक उठान गर्नु भएका चेत बहादुर सिंह राजा लेखनाथ महोत्सवमा सम्मानित, सरोकार मञ्च, मेरी बास्सै जिरे खोसानी को ३०० सय भाग पुरा भएको अवसरमा सम्मानित, सफलता अवार्ड २०१२ बाट अवार्ड पाउँन सफल हुनुभएको छ भने नेपाल सरकार तथा उपराष्ट्रपति, प्रधानमन्त्री विभिन्न मन्त्रीहरुबाट समेत सम्मानित भइसक्नुभएको छ ।
भारत, चीन, थाइल्याण्ड, सिङ्गापुर, मलेसिया, दुबईजस्ता राष्ट्रहरूको भ्रमण गरी प्राप्त अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै निरन्तर लागिरहनुभएका चेत बहादुर सिंह राजा लगायत उक्त समारोहमा ख्याती प्राप्त कलाकार, खेलाडी, पत्रकार, व्यवसायी, समाजसेवी, सौन्दर्यविद् तथा प्राविधिकहरुलाई सम्मान गरिएको थियो ।