-डा.डिआर उपाध्याय,
चीनका विदेशमन्त्री वाङ यी शुक्रबार नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन । दुई देशबीचको सौहार्दपूर्ण मित्रतालाई अझ सुमधुर बनाउनु पर्ने आबश्यकता देखिएको छ । आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउन यो भ्रमणले मद्दत पुग्ने देखिन्छ । नेपालको चीनसँग सौहार्दपूर्ण सम्बन्ध छ । एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ । चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ । हामीले छिमेकी देशलाई चिढाउने काम पनि गर्नु हुदैन । हाम्रो देश नेपाल भारत र चीनको बीचमा छ । हामीले भारत र चीनसंग उस्तै सम्बन्ध कायम राख्न सक्नु पर्छ ।
हामीले दुबै देशलाई चिढाउने काम गर्नु हुदैन । हामी दुई विशाल मुलुकको बीचमा छौ । हामीले यी दुबै देश संग कूटनीतिक सम्बन्ध कायम राखिरहनु पर्छ । हाम्रो देशको बिकासका लागी उनीहरुबाट सहयोगको अपेक्षा पनि राखिरहनु पर्छ । हामीलाई अहिले दुवै मुलुक उत्तिकै महत्व छन । छिमेकी देश भारतले बेला बेलामा सीमामा बिवाद ल्याउने काम गरेको छ । यसको दीर्घकालीन समस्या खोज्नु पर्ने आबश्यकता भने देखिएको छ । पछिल्लो समय चीन विश्वमञ्चमा आफ्नो दर्विलो उपस्थिति जनाउँदै आएको छ । नेपालको स्थायित्व र समृद्धिका लागि भारत र चीन उत्तिकै महत्व राख्दछन् ।
यी देशहरुबाट हामीले फाइदा लिन सक्नु पर्छ । हाम्रा दुवै छिमेकी मुलुक स्रोत–साधनका हिसाबले पनि निकै सबल र सहयोगी पनि छन् । दुवै छिमेकी देशलाई मित्र बनाएर अघि बढ्नु हाम्रा लागि हित हुने छ । राष्ट्रिय हितको विषयमा हामी खुल्ला हुनु पर्छ । राष्ट्रिय हित बिपरितका कुनै सम्झौता हामीले गर्नु हुदैन । नेपालले अमेरिकी सहयोग एमसीसी परियोजना संसद्बाट पारित गरेपछि भने चीन नेपालप्रति शंकालु बनेको जस्तो देखिन्छ । नेपाली भूमी प्रयोग गरी कुनै पनि राष्ट्रले चीनलाई कुदृष्टि नलगाओस् भन्ने भनाई चीनको रहेको छ । नेपालले नेपाली भूमी छिमेकी मुलुक विरुद्ध प्रयोग हुन नदिने सार्वजनिक प्रतिवद्धता व्यक्त गरिसकेको छ ।
तर चीन भने ढुक्क हुनसकेको देखिदैन । चीनले सार्वजनिक रुपमा नै एमसीसीको विपक्षमा अभिव्यक्ति दिदै आएको छ । चीन आफूले अघि सारेको महत्वाकाक्षी परियोजना बिआरआई नेपालले लागू गरोस् भन्ने पक्षमा रहेको छ । नेपालले अमेरिकी सहयोग एमसीसी संसद्बाट पारित गरेपछि चीनले नेपाललाई अझै चासोका साथ हेरिरहेको छ । चिनिया राष्ट्रपति सी जिनफिङको सन्देश लिएर विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणमा नेपाल आएका छन । वाङले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतासँग समेत छुट्टाछुट्टै भेट गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यस अवस्थामा नेपालले अत्यन्त प्रष्ट र तार्कित कूटनीतिक व्यवहार देखाउन सक्नुपर्छ ।