१४ औं मिस तामाङ संस्करणबाट रञ्जना स्याङबो विजेता

काठमाडौँ, – ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जित्न सफल भएकी छिन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना स्याङ्बो तामाङले ‘मिस तामाङ २०२२’ को उपाधि जित्न सफल भएकी हुन् । एमडी गु्रपको प्रस्तुति तथा मम्स इन्टरनेसनल नेपालको आयोजनामा उक्त प्रतियोगिता राष्ट्रिय सभागृहमा शनिबार सम्पन्न भएको हो । ‘मिस तामाङ २०२२’ रञ्जनालाई मिस तामाङ २०२१ की विजेता सफलता तामाङले ताज पहिराई दिएकी थिइन् । मिस तामाङ रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर जितेकी छिन् । उक्त प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन् भने उनले ५० हजार नगद पुरस्कार हात पारिन् । डिजी लोप्चन सेकेन्ड रनरअप र थर्ड रनर अपमा दोलखाकी प्रकृति पाख्रिन तामाङ बनिन् । तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले १४औं संस्करण मिस तामाङ–२०२२ को आयोजना गरिएको हो । तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडि मोक्तान, डा. दिलबहादुर थोकर, मिस तामाङ २०१७ की पिङ्की घिसिङ, मिस नेपाल २०१९ की अनुश्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियुका पूर्व अध्यक्ष तथा सभासद नवीना लामा रहेकी थिइन् । मम्स इन्टरनेसनल नेपालका अध्यक्ष रन्जिता लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । गायक तथा सडक विभागका सहसचिव देवकुमार तामाङ, नेपाल सरकारका पूर्व सचिव धनबहादुर तामाङ, फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष तथा चलचित्र निर्देशक बिनय दोङ तामाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नायक अमिर दोङ र सुश्मा मोक्तानको आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने सन्जोक योन्जन र कुन्साङ वाइबाले आफ्नो साङ्गितिक प्रस्तुतिले माहोल तताएको थियो । कार्यक्रम कोरियोग्राफी रोजिन शाक्य र सृजना पाख्रिनले संचालन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *