आज भोली बजारमा गुर्जोको माग बढेको छ। खेतबारी र जंगलमा पाइने यो वनस्पतिबारे यसअघि कमैलाई मात्र थाहा थियो। कोराना महामारी बढ्दै गएपछि गुर्जोको माग बढेको विज्ञ बताउँछन्। यो कोरोनाको औषधि होइन तर मिलाएर खाएमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञ बताउँछन्।गुर्जो जुनसुकै उमेर समूहले पनि खान मिल्छ।
खाने तरिका भने उमेर र तौलअनुसार फरकफरक हुन्छ। ‘आयुर्वेद चिकित्सकको सल्लाहअनुसार खानुपर्छ। आफ्नै तरिकाले मात्रा निर्धारण गरेर खानु घातक हुन सक्छ’, वैद्य भन्छन्।कोरोना संक्रमण बढ्दै गएपछि गुर्जोको माग धेरै भएको उनी बताउँछन्। मागअनुसार सेवाग्राहीसमक्ष पुर्याउन नसकिएको उनको भनाइ छ । गुर्जो समुद्री सतहको ३०० मिटर देखि १८०० मिटरको उचाइमा विभिन्न भौगोलिक क्षेत्रमा पाइन्छ। यो लहरा प्रजातिको वनस्पति हो। तराई तथा चुरे क्षेत्रमा पाइने गुर्जोको पात पानको जस्तै हुन्छ। यसको डाँठ फुस्रो हुन्छ ।
महाभारत पर्वत शंखलामा पाइने गुर्जोको कालो डाँठ हुन्छ। उच्च हिमाली भूभागको सेपिलो भागमा पाइने गाने गुर्जो औषधीय उपयोगका हिसाबले उत्तम मानिन्छ। संस्कृतमा गुडुची वा अमृता भनिने गुर्जोको बोटानिकल नाम टिनोपोरा कोर्डिफोलिया हो। वैद्यका अनुसार गुर्जोको पातमा क्याल्सियम प्रोटिन फस्फोरस प्रचुर मात्रामा पाइन्छ। यो कमलिपत्तको प्रभावकारी औषधि हो। गुर्जोको डाँठमा स्टार्च सँगसँगै यसमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइन्छ। रगतको शुद्धता र वृद्धि, हृदयाघातको जोखिम न्यूनीकरण, मधुमेह नियन्त्रण र छालामा चमक, मुहारमा कान्ति वृद्धिकाका लागि उत्तम मानिन्छ।