विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग पराजित - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग पराजित


सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो । नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गर्नुभयो । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ ।

कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गर्नुभयो । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो ।

इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेनुभएका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै पर्नुभएको थियो । खेलको २९औँ मिनेटमा घाइते भएपछि उहाँ मैदानबाट बाहिरिनुभयो । उहाँको स्थानमा सुनिल बल मैदान प्रवेश गर्नुभयो ।

कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो । दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५८औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सक्नुभएन । खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पार्नुभयो । नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *