भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ।
गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो।
तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो।
ढिला भएको उनको भ्रमणका लागि हालै प्रक्रिया पुनः सुरु भएको सैनिक स्रोतले जनाएको छ। नरवाणेलाई पुनः भ्रमणको लागि सेनाले निमन्त्रणा पठाउने तयारी गरेको छ।
मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्ताे दिने तयारी गरेको हो। दुईपक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।
भ्रमणको मिति तय भइनसकेको तर कात्तिकमा हुने गरी तयारी सुरु गरिएको सेनाले जनाएको छ।
नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्नेछन्।
नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने चलन छ।
यसअघि भारत भ्रमणका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनापतिको मानार्थ ग्रहण गरेका थिए।