बर्दघाट नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

बर्दघाट नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने


नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्न अवकाश पछि रु दुई लाख उपदान दिने भएको छ । राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्दै आएका स्वयम्सेविकाले आफूहरुको योगदानको मूल्याङ्कन गरी नगरपालिकाले एकमुष्ठ उपदान दिने निर्णय गरेको भन्दै खुशी भएका छन् ।
अब नगर भित्रका महिला स्वयम्सेविकाहरुले ६० वर्षमा सेवापछि अवकाश पाउँदा नेपाल सरकारले दिने रकमको अतिरिक्त नगरपालिकाबाट थप रु दुई लाख एकमुष्ठ पाउने नगर प्रमुख धीरज शर्मा बस्यालले विचारखबरलाई जानकारी दिनुभयो । नगरसभाबाट पारित भईसकेकोले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम कार्यान्वयन हुने उहाँले बताउनभुयो ।
यस निर्णयबाट सामुदायिक स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने बताउँदै नगर प्रमुख बस्यालले भन्नुभयो, “समुदायमा रहेर विशेषगरी बाल मृत्युदर र मातृ मृृत्युदर घटाउन तथा स्वास्थ्य क्षेत्रमा उहाँहरुले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै अवकाशपछि उक्त रकम दिने निर्णय गरेका हौँ । ”
बर्दघाट नगरपालिकामा ४५ जना स्वास्थ्य स्वयम्सेविका छन् । अवकाशपछि स्वयम्सेविकालाई एकमुष्ठ रु दुई लाख प्रदान गर्ने बर्दघाट नगरपालिका नेपालकै पहिलो स्थानीय तह रहेको नगरपालिकाले जनाएको छ ।
समाजमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्दै आएका स्वयम्सेविकाहरुले हाल अवकाश लिँदा नेपाल सरकारबाट रु २० हजार पाउने गरेको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो । अन्य स्थानीय तहले पनि उपदान दिने गरेको तर यति धेरै रकम दिने बर्दघाट मात्रै रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *