गोविन्द कंडेल ‘आंशु’को संयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

गोविन्द कंडेल ‘आंशु’को संयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न


नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठान काभ्रेको संयुक्त आयोजनमा नमोबुद्ध साहित्य उत्सवको तेस्रो सृङ्खला सम्पन्न भएको छ । चैत्र २० र २१ गते, काभे्र जिल्लामा रहेका सांस्कृतिक, ऐतिहासिक र साहित्यिक स्थलहरूको भ्रमण तथा वृहत् कविता गोष्ठीका साथ उक्त उत्सव सम्पन्न भएको हो । काभ्रेबाहिर र भित्रका कवि तथा साहित्यकारहरूको सहभागितामा आयोजित उक्त कार्यक्रमको पहिलो दिन ऐतिहासिक र धार्मिक महत्त्वको नमोबुद्ध, ऐतिहासिक सहर दाप्चा, गुरुप्रसाद मैनालीको जन्मथलो कानपुर तथा रोशी वाङ्मय प्रतिष्ठानको निर्माणाधिन भवन रहेको भकुण्डेवेशीको भ्रमणमा केन्द्रित रह्यो । दोस्रो दिनको कार्यक्रम कवितामाथि गहन विचार विमर्श तथा कवितावाचनका साथ सम्पन्न भएको थियो ।

नमोबुद्ध नगरपालिकाका मेयर तथा रोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष टिपी शर्मा तिमल्सिनाको सभापतित्वमा, नगरपालिका भवन भकुण्डेवेसीमा आयोजित गोष्ठीका प्रमुख अतिथि वरिष्ठ कवि, कथाकार एवं साहित्यिक अभियन्ता एलबी क्षेत्री हुनुहुन्थ्यो । स्वागत मन्तव्य प्रस्तत गर्दै नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजल पौडेलले आफ्नो नगरपालिका कलासाहित्यको उत्थानमा लागिपरेको बताए । प्रमुख मन्तव्य प्रस्तुत गर्दै कवि तथा समालोचक महेश पौड्यालले भने, पूर्ण कविता नृत्यजस्तो हुनुपर्छ, जसले शरीरका सबै अवयवलाई एकैचोटि झङ्कृत गरिदिन्छ । उनले भने, “अचेल हामी खण्डित भाषा टिपेर कविता बनाउनुपर्ने समयमा छौँ । त्यसैले, हामीमा कलाकारिता बढी हुनु जरुरी छ ।”

नेपाल टेलिभिजनका महाप्रबन्धक, कवि, कथाकार तथा चलचित्रकर्मी फूलमान बलले हामी आयातित विचारले भन्दा आफ्नै स्थानीय चिन्तन र पहिचानबाट बढी चिनिनु जरुरी भएको बताए । उनले काभ्रे थुप्रै मिथक, गाथा, कथा, लोक सङ्गीत र जातीय पहिचानका अवयवहरूमा धनी रहेको भन्दै यस्ता कुरामा अबको लेखक केन्द्रित हुनुपर्ने बताए । प्रमुख अतिथिको मन्तव्य प्रस्तुत गर्दै साहित्यकार एलबी क्षेत्रीले निर्वाचित स्थानीय सरकार कलासाहित्यको उत्थानमा लाग्नु ज्यादै सराहनीय कार्य भएको बताए ।

उनले भने, नमोबुद्ध नगरपालिकाको यस पहललाई उदाहरण मानेर अन्य स्थानीय सरकारले पनि कलासाहित्यको उत्थानलाई आफ्नो प्रथामिकता बनाउनुपर्ने जिकिर गरे । कार्यक्रमका सभापति, मेयर टिपी शर्माले भने— हामी नमोबुद्ध नगरपालिकालाई साहित्य मैत्री नगरापालिका बनाउने क्रममा छौँ । उनले यहाँका हरेक वडामा साहित्यिक कार्यक्रमको विस्तार भइरहेको र छिटै यस क्षेत्रलाई कला नगरी बनाउने पहल भइरहेको पनि बताए ।

कार्यक्रमको दोस्रो सत्र कवितावाचनमा केन्द्रित रह्यो । कवि तथा निबन्धकार मोमिलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काभ्रेबाहिरबाट जाने, र काभ्रे भित्रकै कविहरूले आफ्ना कविता सुनाएका थिए । अतिथि कविहरूमा श्री एलबी क्षेत्र, प्राज्ञ लक्ष्मी उप्रेती, प्रतीक ढकाल, मोमिला, ठाकुर बेलबासे, सविता गौतम दाहाल, डा. अशोक थापा, महेश पौड्याल, जयराम तिमल्सिना, रमा अधिकारी, अनिल खतिवडा र निरज दाहालले कविता सुनाएका थिए भने, स्थानीय कविहरू जनार्दन रिजाल, राजन पौडेल, गोबिन्द कँडेल आँसु, तारा सुनुवार, रामचन्द्र पौडेल, हरिकृष्ण सिलवाल आदिले आफ्ना कविता, गजल र गीत सुनाएका थिए ।

प्रस्तुत रचनामाथि टिप्पणी गर्दै साहित्यकार प्रतीक ढकालले कविता एक अति नै गम्भीर विधा भएको हुनाले यसलाई खेलाँचीको रूपमा लिन नहुने बताए । कविता सूक्तिमयताका कारण जीवन्त हुन्छ भन्ने जिकिर गर्दै उनले कविहरूलाई भावगाम्भीर्य र उच्च कलाचेतनाको पक्षमा उभिन अनुरोध गरे । कवि मोमिलाले संसारका सबै संरचना नाशवान् भएको सन्दर्भमा कलासाहित्यमा अङ्कित इतिहास नै दीर्घजीवी हुने बताइन् । उनले यस आयोजनाका लागि नमोबुद्ध नगरपालिका तथा रोशी वाङ्मय प्रतिष्ठानलाई धन्यवाद पनि ज्ञापन गरिन् । कार्यक्रमको संयोजन गीतकार गोविन्द कँडेल आँसुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *