वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता


  • डा.डिआर उपाध्याय

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथा व्यथा आफ्नै किसिमको छ । विदेशमा पैसा कमाउन त्यति सजिलो छैन्् । कसैले प्रशस्त पैसा कमाउन सक्छन् कतिको हालत खराब देखिन्छ । अरुको देशमा गएर श्रम बेच्नु भनेको निकै कठिन कार्य हो । जे जति नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ती सबै खुसी छैनन् । वैदेशिक रोजगारीमा जानु भनेको रहर नभई बाध्यता हो । धेरै नेपालीहरु बाध्यताले विदेशमा छन् ।

हाम्रो देश नेपालमा रोजगारीको अवसर भएको भए नेपालीहरु वैदेशिक रोजगारीमा जाने थिएनन् । देशमा राजनीतिक परिवर्तन पछि पटक पटक विभिन्न दलका सरकार बने तर कसैले पनि स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सकेनन् । राजनीतिक दलहरुले जब देशमा चुनाव आउँछ त्यसबेला युवालाई आ आफ्नो पक्षमा पार्न चुनाव जितेपछि रोजगारी सृजना गछौँ भन्ने झुटा आश्वासन दिन्छन् । तर तिनै दलले् चुनाव सकिएपछि सबै कुरा बिर्सन्छन् । समस्या यहाँ निर हो । अब झुटको राजनीतिमा युवाहरुले विश्वास गर्नेवाला छैनन् ।

धेरै युवाहरु राजनीतिमा लागेर बिग्रिएका छन् भने केही बनेका पनि छन् । यतिबेला धेरै युवाहरु स्वदेशमा सडकका गल्लीहरुमा बेरोजगारीका कारण भौँतारिरहेका छन् । जसले गर्दा युवाहरु विदेसिन बाध्य छन् । तरपनि वैदेशिक रोजगारीबाट आर्थिक उन्नति गर्नेहरू पनि हाम्रो समाजमा प्रशस्त छन्,। केही वैदेशिक रोजगारीका क्रममा विविध हन्डर ठक्कर खाएर रित्तो हात स्वदेश फर्की साहुसँग लिएको ऋणसमेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । आफ्नै भूमिमै पनि आधुनिक कृषि खेती, पशुपालन, माछापालन लगायतका पेसा व्यवसाय गरेर अथाह सम्पती कमाएका युवाहरु पनि प्रशस्त छन् । कतिपय नेपाली युवाले विदेशमा सिकेको सिप र श्रम स्वदेशमै प्रयोग गरी प्रशस्त आय आर्जन गरेका छन् ।

मातृभूमिमै सानो ठूलो काम नभनी श्रम गर्ने हो भने खुसीसँग परिवारको साथ बस्न र आनन्दसँग दैनिक चलाउन सकिन्छ । हाम्रो देशबाट दैनिक एक हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसरी रोजगारीमा जानेहरूमध्ये अधिकांशको आर्थिक हैसियत निम्नस्तरको भएको देखिन्छ । मुलुकभित्र रोजगार नपाएर बाध्यताले विदेश जाँदा पनि सम्बन्धित कम्पनीले प्रतिबद्धता जनाएअनुसार पारिश्रमिक नदिएका कारण विदेशमा धेरै युवाहरुले दुःख पाउने गरेका समाचार हरु आउने गरेका छन् । कोही काम गर्दागर्दै दुर्घटनामा परेर अपांगता बनेर फर्कनुपर्ने बाध्यतामा छन् ।

सरोकारवाला निकायको गैर जिम्मेवारीपनले यो अवस्था आएको हो। सरकारले स्वदेशभित्र रोजगारी पनि दिन नसक्ने र सरकारकै अनुमति लिएर वैदेशिक रोजगारीमा जाँने युवाहरुले दुःख खप्नुपरेको बारेमा चासो नदिनु सरकारको गैरजिम्मेवारीपन हो । सरकारले मुलुकमै रोजगारी सिर्जना गराउनेतर्फ पहल गर्नुपर्छ । बिहानबेलुकाको छाक टार्नकै लागि विदेशी भूमिमा जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *