वैदेशिक रोजगार विभागविरुद्ध व्यवसायी संघले चरणवद्ध आन्दोलन गर्दै - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

वैदेशिक रोजगार विभागविरुद्ध व्यवसायी संघले चरणवद्ध आन्दोलन गर्दै


वैदेशिक रोजगार विभागविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ। विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको कार्यशैली अपनाएको भन्दै संघले विज्ञप्तिमार्फत औपचारिक रूपमा आगामी आइतबारदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको जनाएको हो।

संघले वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न नपाउने विभागको पछिल्लो सार्वजनिक सूचनासहित, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन तथा जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन जस्ता विषय पनि तत्काल समाधान गर्नुपर्नेमा विभागले त्यसमा ध्यान नदिएको बताएको छ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यवसायीको मनोबल उकास्नु पर्ने समयमा विभागले विगतमा सुधारका लागि जनाएका प्रतिवद्धता पूरा नगरी नियन्त्रणमुखी रवैया अपनाएको भन्दै त्यसले व्यवसायीलाई सडकमा ओर्लन बाध्य पारेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *